
प्रधानमन्त्री केपी शर्मा ओलीको चट्टानी अडानका कारण मुलुकले विकास र समृद्धिको आधार तयार गरेको स्पष्ट छ । त्यती मात्र हैन, गुमेको नेपाली भूमि फिर्ता ल्याउने प्रकृयामा अघि बढेको छ । ओलीकै नेतृत्वमा संविधानमा समेत गुमेको भुमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा समेत जारी भएको छ । वर्तमान सरकारले लिएको अडानका कारण ओली बिरोधी नेपाल भित्रको एउटा तप्का, भारत र त्यहाँका सञ्चार माध्ययमहरुले वर्तमान सरकारका विरुद्ध न्वारनदेखीको बल लगाएर कडा प्रहार गरिरहेका छन् ।
भारतको इसारामा नै प्रचण्ड र माधब नेपाल लगायतले ओली नेतृत्वको सरकारलाई असफल बनाउन एक पछि अर्को कदम, यो वा त्यो बहाना बनाउँदै आएका छन् । उनीहरुकै योजना र दुश्प्रचारमा सरकारले गरेका राम्रा कामलाई समेत छोपिने गरी कुप्रचार हुने गरेको आम नेपाली जनताले प्रष्ट बुझ्ने मौका समेत पाएका छन् ।
त्यही क्रममा भारतले वर्तमान सरकारलाई हटाउन पूरा शक्ति लगाएको कुरा घाम जस्तै छर्लंग छ । भारतको इसारामा प्रचण्डको नेतृत्वमा माधब नेपाल लगायतको टिम परिचालित भएको सजिलै यकिन गर्न सकिन्छ । यसै त प्रचण्डलाई २०५२ सालदेखी नै भारतले हुर्काएको, पालन पोषण गरेको भनेर आलोचित हुँदै आएका पात्र हुन् ।
ओलीको पहिलो प्रधानमन्त्रीत्वको कालमा चीनसितको सम्बन्ध विस्तारका कारण भारतको नेतृत्वमा उही प्रचण्ड पात्रलाई नै प्रयोग गरि ओलीलाई अपदस्थ गरिएको घटनाको पुनरावृति हुनसक्ने स्थितिमा राष्ट्रियताप्रतिको अडान, कट्टर राष्ट्रवादी साबित भए संगै नेपालले आज यो आशावादी उर्जा हासिल गरेको र ओलीको सगरमाथा भन्दा उच्च उचाई, चर्चा, लोकप्रियता र प्रभाव देखेर प्रचण्ड-माधब लगायत धेरैलाई ईष्या, डाह र ऐठन भएको देखिन्छ । त्यसैले उनीहरुलाई ओली प्रधानमन्त्रीबाट हटिदिए हुन्थ्यो भन्ने लागेको हो ! तर राष्ट्र, राष्ट्रियता, बिकास र समृद्धिको लागी सतिसाल झै उभीएका ओलीलाई स्वीकार्न नसकेका टप्परटुईंयाहरुले वर्तमान परिबेशमा सत्य के हो भन्ने कुरा जबरजस्त स्वीकार्नु पर्ने स्थिति खडा भएको हो ।
सायद सबै प्रधानमन्त्रीले यसरी काम त गर्न सक्दैनन् । एकैचोटी भारत, प्रतिपक्ष, घरानिया संचार, परिचालित कोठे पत्रकार मात्र नभइ आफ्नै पार्टी भित्र चलखेल गर्ने अवसरवादी एबं लोभीपापीहरूको टोकाइले पनि उहाँलाई सास्ती दिन छाडेका छैनन तर पनि उहा सत्यको पक्षमा एक्लै उभिई रहनु भएको छ, काम गरिरहनु भएको छ । मात्र यति हो, ओलीको सगरमाथा जत्तिको छातीमा भ्यागुत्ताहरु उफृन खोज्दा रहेछन भन्ने यथार्थ बुझी सकियो ।
प्रचण्डले नेतृत्व गरेको अवसरवादी समूहले हिजो एमाले र एमालेको नेतृत्वकर्ता, केपी शर्मा ओलीबाट आर्शिवाद नपाएको भए गएको चुनावबाटै सदाका लागी “नमस्ते” हुने पक्का थियो, यो तितो सत्य हो । स्थानीय तहको निर्बाचनमा कांग्रेसको बुई चढ्दा माओवादी केन्द्रलाई दिउसै टर्च लाईट लगाएर खोज्नुपर्ने अवस्थामा पुर्याएका प्रचण्डले अब पनि निर्माण होइन ध्वंसको अवस्थामा पुर्याउने लगभग निश्चित प्राय: देखिन्छ । भारतको टिका लगाएर नेतृत्व गर्छु भनि सपना देख्ने प्रचण्ड र उनका मामूली कार्यकर्ता बनेका माधबले यदि सरकारको नेतृत्व सम्हाल्ने दाउ पाए भने मात्र पनि देशको अस्तित्वमाथी बिकराल संकट पैदा हुने पक्का छ । हुनत, नेपाली जनताले यो पनि बुझेका छन् की प्रचण्ड र दिल्ली भनेको पर्यायवाची शब्द हो । अब नेपाली जनता त्यती अबुझ छैनन्, एक एकको हिसाव किताव राख्नेछन् र चुक्ता पनि गर्नेछन् । त्यो दिन प्रचण्डले पृथ्वीको कुनै ठाउँमा त हैन पानी मुनि लुकेपनि जनताले छाड्ने छैनन् ।
त्यसैले, गौरबशाली इतिहास बोकेको एमालेले आफ्ना सु-सज्जित भातृ संघ-संघठनहरु र बिकसीत कमिटी प्रणाली फेरि पनि अझ बृहत बिस्तार गर्दै संगठित विमर्शको प्लेटफर्म र कमिटी प्रणालीलाई तत्काल सुचारु गर्नुपर्छ । यसरी चल्दैन, त्यसरी चल्दैन भन्ने आवाज पार्टीमा रहे पनि त्यो जमात भोकल भएर आउन सकेन किनभने भोकल आउनु पर्ने जमातमा पनि गहिरो गुटबन्दी र अवसरवाद जोडिएको छ, बिधी र पद्धतिका नारा लगाउनेहरु त केबल पद प्राप्ति र स्वार्थपुर्तीका प्रतिमुर्ति हुन भन्ने साबित भैसकेका बिषय हुन । यसबाट के प्रष्ट हुन्छ भने आफु देशको लागि केही गर्न पनि नसक्ने, अरुले गरेको पनि देखि नसक्ने यी अवसरवादी किटाणुहरुलाई नेपाली जनताले केहि हदसम्म बुझे पनि अझ राम्रोसंग बुझ्न जरुरी भएको छ । यदि केपी ओलीलाई बदनाम गरेर भारतपरस्त योजना सफल भएको खण्डमा यस अपराधको परिणाम स्वरुप लोभीपापी र इतिहासमा असफल भएर राजनीतिबाट नकआउट भइसकेका अगस्तिहरुले भोग्न बाध्य हुनुपर्छ ।
अन्तत: कम्युनिष्ट आन्दोललाई बचाउन, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले सुम्पेको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुधृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्दै, भारतको निर्देशनमा पार्टीको मूल नेतृत्वलाई अपदस्त गर्न अहोरात्र लागीपरेका लेण्डुपको चरित्र बोकेकाहरुले पार्टीलाई सकरात्मक दिशामा अघि बढाउन मार्ग प्रसस्त गरे राम्रो हुनेछ र राष्ट्रलाई यी यावत समस्याहरुबाट मुक्त गरी समृद्द मुलुक निर्माण गर्ने दिशामा सम्पुर्ण अग्रगामी, देशभक्त नेपाली नागरिकहरु अग्रसर हुनु आजको परिबेशमा बिशेष आवस्यकता हो ।