Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

उडान टुंगो नलागुन्जेल कैयौँ रात निद्रा भंग भयो- सन्दीप लामिछाने

User Photo बिहिबार, साउन १५, २०७७
काठमाण्डाै ।

चार महिना लामो लकडाउन अवधिमा पट्यारलाग्दो समय व्यतित गरेका सन्दीप लामिछानेले सीपीएल खेल्न जान पाउँदा उत्साहित भएकाे बताएका छन् । ‘हिजोसम्म सीपीएल खेल्न पाइन्छ कि पाइन्न भन्ने दुविधा थियो’, लामिछानेले भने, ‘आज जहाजको टुंगो लाग्यो, अब सीपीएल खेल्न उत्साहित छु ।’

जहाजको टुंगो नलागुन्जेल कैयौँ रात निद्रा नै भंग भएको सुनाउँदै उनले भने, ‘जे होस् अब जान पाइने भयो, अब खेल्ने पाइनेमा ढुक्क छु ।’

भदौ २ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि छनोट भएको खबर उनले गत असार २२ गते पाएका थिए । आफूले मागेकै पारिश्रमिकमा खेल्न पाउने खबरले उनी कम्ता खुशी भएनन् । लामिछानेले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । जमैका तलावाजले उक्त रकममै लामिछानेलाई अनुबन्ध गर्यो ।

यसअघि सन् २०१९ मा उनलाई बार्बाडोस ट्राइडेन्सले ७० हजार डलरमा अनुबन्ध गरेको थियो । उक्त प्रतियोगितामा लामिछानेले पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सले मात्र पाँच हजार डलरमा लामिछानेलाई अनुबन्ध गरेको थियो । सो प्रतियोगितामा उनले छ खेलमा आठ विकेट लिएका थिए ।

आफूले चाहेकै पारिश्रमिक पाउने भएपछि लामिछानेलाई खुशी त मिल्यो तर यस्तो बन्दाबन्दीमा ट्रिनिडाड एन्ड टोबागो कसरी पुग्ने भन्ने चिन्ताले सतायो । नेपालमा अझै आगामी भदौ १ गतेसम्मका लागि अन्तरराष्ट्रिय हवाई उडान बन्द थियो । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएकाले लामिछाने सीपीएल गुमाउने अवस्था थियो । अन्तिम समयमा चार्टर्ड विमानमार्फत उनी बिहीबार दक्षिण कोरिया हुँदै ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो ।

लामिछानेको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन् । उनी आबद्ध जमैका तलाबाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ । सीपीएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

ट्रिनिडाड एन्ड टोबागोबाट लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमेरेटस् (युएई) जानेछन् । कोरोना महामारीका कारण यसपटक आईपीएलको १३औँ संस्करण असोज पहिलो सातादेखि युएईमा हुँदैछ । लामिछाने आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने छन् । लामिछाने तेस्रोपटक आईपीएल खेल्न लाग्दैछन् । ‘अब चाँडै नेपाल फर्किने सम्भावना छैन, तर जहाँ गए पनि नेपालको इज्जत र प्रतिष्ठाका खेल्छु’, लामिछानेले भने ।

त्रिवि खेल मैदानका कर्मचारीलाई एक लाख सहयोग

यसैबीच राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । सीपीएल खेल्न ट्रिनिडाड एण्ड टोबागो उड्नुअघि त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त सहयोग घोषणा गरेका हुन् ।

‘कोरोना भाइरसको महामारीबीच पनि उहाँहरुले निकै मेहनत गरी मैदानलाई खेल्न लायक बनाउनुभयो’, लामिछानेले भने, ‘यसरी मैदान तयार नगरेको भए हामी खेल्नसक्ने थिएनौँ ।’

‘मैदानको रेखदेख गर्ने कर्मचारीले समयमा पारिश्रमिक पाउनुभएको रहेनछ,’ उनले भने, ‘मैले सानो सहयोग गर्न खोजेको छु ।’ मैदानमा दिनरात खटिने कर्मचारीलाई भविष्यमा पनि आफ्नो सक्दो सहयोग जारी रहने उनको भनाइ थियो । हाल त्रिवि मैदानमा १४ कर्मचारीले काम गर्दै आएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.