Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्ष जेल, बदनियतपूर्वक उपचार गर्दा मृत्यु भएमा जन्मकैद

User Photo
शुक्रबार, साउन २५, २०७५

काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु हुँदा डाक्टरको लापरवाही भएको भन्दै नेपालका धेरै अस्पतालमा हुलदंगा र तोडफोड हुने गरेको छ । यस्ता विवादहरु धेरैजसो अस्पताल प्रशासनसँगको सहमतिमा टुंगिने गरेका छन् । मिलेमतोमा घटना सामसुम पारिँदा डाक्टरको लापरवाही हो वा होइन भन्नेसमेत थाहा हुँदैन । तर, अब भदौ १ देखि नयाँ मुलुकी संहिता आएपछि भने डाक्टरहरुले जेल जानुपर्ने हुन सक्छ ।

उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाहीको भरपर्दो व्यवस्था नहुँदा अहिलेसम्म यस्ता घटनामा चिकित्सकहरुमाथि कुनै कारवाही भएको छैन । तर, अब भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ मा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।


advertisement

उक्त ऐनको इलाजसम्बन्धी कसुरको दफा २३२ मा लापरवाही वा हेलचेक्र्याइ गरी इलाज गर्न नहुने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ- ‘कानुनबमोजिम इलाज (उपचार) गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरवाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्नु हुँदैन ।’

यदि लापरवाहीपूर्ण कारणबाट ज्यान मर्न गएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ । यदि हेलचेक्र्याइँबाट मृत्यु वा अंगभंग भएमा भने ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।

हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा भने डाक्टरले उपचारमा लापरवाही गरेमा २ वर्षसम्म कैद वा ५ सय जरिवानाको व्यवस्था थियो । उक्त ऐनको इलाज गर्ने महलको ८ नम्बरमा भनिएको छ ‘औषधी चिरफार गर्ने, औषधी मिलाई खुवाउन पाउनेहरुले रोगीको फाइदाका निमित्त सो काम गर्दा होस नपुर्‍याई गफलत वेपर्वाही गरी बेकाइदासँग काम गरेकोबाट रोगी मर्न गएको वा जीउमा जखम हानी पीडा भएको ठहरेमा त्यस्तालाई ५ सय रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुबै सजायँ हुन्छ ।’

यदि डाक्टरको लापरवाहीले कसैको ज्यान मारेर वा अंगभंग भएमा वा कुनै क्षति पुगेमा लापरवाही गर्ने डाक्टरले पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा उपचारमा लापरवाही गरेमा क्षतिपूर्तिको व्यवस्था छैन ।

मुलुकी ऐनमा भन्दा मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकको लापरवाहीको विषयमा स्पष्ट व्यवस्था र कारबाही कडा पारिएको छ । डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएमा पीडितले जहिलेसुकै पनि उजुरी गर्न सकिने व्यवस्था गरी हदम्याद हटाइएको छ ।

बदनियतपूर्वक उपचार गर्दा मृत्यु भए जन्मकैद

नेपालका कतिपय अस्पतालमा विरामीको व्यथा नै थाहा नपाई उपचार गरेको घटना पनि कहिलेकाहीँ हुने गरेका छन् । एउटा खुट्टामा गर्नुपर्ने अपरेसन अर्कै खुट्टामा गरेको, गलत रोगको उपचार गरेका उदाहरण पनि पाइएको छ । अब डाक्टरको यस्तो हेलचेक्र्याईले बिरामीको मृत्यु भएमा जन्मकैदसम्म हुन सक्ने व्यवस्था मुलुकी अपराध संहितामा गरिएको छ । यदि यस्तो हेलेचेक्र्याइँले अंगभंग भएमा भने १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ ।

ऐनको दफा २३१ मा बदनियत चिताई उपचार गर्नु भन्नाले निम्न अवस्था उल्लेख गरिएको छ-

ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्नु

एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको गर्नु

ज्यान मर्छ भन्ने जानी जानी औषधी खुवाउनु वा सिफारिस गर्नु

एउटा अंग चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नु

त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट अलग गर्ने काम गर्नु ।

यस्तो कसुरबाट ज्यान मरेमा ज्यान मारेसरह अर्थात जन्मकैदसम्म र अंगभंग भएमा अंगभंग गराए सरह अर्थात १० वर्षसम्म कैद र एक लाख जरिवाना गर्ने व्यवस्था ऐनमा गरिएको छ ।

म्याद नाघेको औषधी बिक्री गरे १ वर्ष कैद

मुलुकी अपराध संहितामा म्याद नाघेको औषधी बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधीले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ ।

इलाज सम्बन्धी धेरैजसो कसुरमा उजुर गर्न पाउने हदम्याद पनि हटाइएको छ । डाक्टरको लापरबाहीले मृत्यु भएमा वा क्षति भएमा पीडित पक्षले जहिलेसुकै पनि उजुरी गर्न सकिनेछ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.